किन पिउने जमराको जुस ? यस्तो छ चमत्कारिक लाभः

Hamro Jamana -   हाम्रो जमाना || २०७७ चैत १ आइतबार

काठमाडौं । बडादशैँमा टीकासँगै शिर र कानमा लगाइने जमराको बहुउपयोग पछिल्लो समय नेपाली समाजमा निकै बढेर गएको छ । वर्षको एकपटक दशैंमा फूलप्रसादका लागि पूजा कोठामा धार्मिक विधि पु¥याएर राखिने जमराको अहिले शहरमा मात्र होइन, गाउँमा समेत व्यावसायिक खेती हुन थालेको छ । 

मुलुकमा शहरीकरणसँगै आममानिसमा देखा परिरहेका गम्भीर प्रकृतिका अनेकौं रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधिका रुपमा जमराको प्रचार भएसँगै यसको उपयोगिता बढ्दै गएको हो ।

नेपाल आयुर्वेद चिकित्सक सङ्घका अध्यक्ष डा प्रकाश ज्ञवाली जमरा जु्सको नियमित सेवनबाट रोग प्रतिरोधी क्षमता बढाउन ठूलो योगदान पुग्ने बताउउँछन्। उनी भन्छन्, “जमरा आफैंमा औषधि नभए पनि जमराको जुस तोकिएको मात्रामा नियमित सेवन गरिए पहिले निको भइसकेको रोग फेरि फर्कने सम्भावना रहन्न । दैनिक सेवन गर्नुपर्ने मात्रा करीब ३० एमएल हो ।”

हामी जो कोहीले विजय दशमीको दिनदेखि पूर्णीमा सम्म टिकासँगै जमरा लगाउने गर्दछौ । तर त्यो जमराको फाईदा थाहा पाउने हो भने सबै चकित हुनुहुनेछ । जौको जमरा फाइबरयुक्त गुणका कारण पछिल्लो शरिरमा चमत्कारीक फाईदा दिने तथ्य फेला परेको छ । चिकित्सकहरुका अनुसार पोषकतत्वले भरिपूर्ण गहुँ, जौले मुटु रोग,पाचन प्रक्रिया, क्यान्सर तथा टाइप २ मधुमेहको जोखिम कम गर्छ ।

चिकित्सकहरुका अनुसार मानिसका लागि गहुँ जति स्वस्थकर छ, उमारेको गहुँबाट बनेको जुस त्योभन्दा धेरै फाइदाजनक छ । त्यसैले गहुँको जुस पृथ्वीकै सर्वोत्कृट स्वस्थ्यकर जुसमध्ये पर्छ ।गहुँको जुसमा उपचारात्मक, चिकित्सकीय तथा रोग निको पार्ने गुण हुन्छ । क्लोरोफिल, अमिनो एसिड, मिनेरल्स, भिटामिन ए, भिटामिन बी कम्प्लेक्स, भिटामिन डी र इ को ठूलो स्रोत मानिएको गहुँको जुसमा म्याग्नेसियम, पोटासियम, आइरन, जिन्क, कपर, सेलेनियम र थाएमिन पाइन्छ ।

उमारेको गहुँ सामान्य तरीकाले तयार हुने भएकाले यसमा आवश्यक पौष्टिक तत्व तथा मिनेरल्स पहिले नै टुक्रिएर बस्ने हुँदा यो तुरुन्तै रक्तकोषिकाहरुमा घुल्दछ ।यसमा एन्टिअक्सिडेन्ट, एन्टी ब्याक्टेरियल, एन्टीक्यान्सर तथा एन्टी इन्फ्लामेन्टरी गुण रहेको हुन्छ । चिकित्सकहरु गहुँको कच्चा पातलाई जुसमा परिणत गरेर दिनमा कम्तिमा एक चौथाई कप गहुको जुस सेवन गर्न सुझाव दिन्छन् । तपाईहरु यसको सुरुवात एकपल्टमा एक चौथाई कप जुस वा दिनमा दुईपल्ट डेढ कप जुसको सेवन गरेर पनि गर्न सक्नुहुन्छ ।

कसैकसैलाई सिधै गहुँको जुस सेवन गर्दा वान्ता हुने वा टाउको दुख्ने समस्या हुन सक्छ । त्यतिबेला अन्य फुलफूल तथा तरकारीको रससित मिसाएर पनि यसको सेवन गर्न सक्नुहुन्छ । तपाई यसको धुलो पनि प्रयोग गर्न सक्नुहुन्छ । एक गिलास पानीमा उमारेको गहुँलाई मिसाएर पनि यसको सेवन गर्न सकिन्छ ।

गहुँलाई जमरा उमारेजसरी घरमै उमारेर त्यसका पातलाई पेलेर जुस बनाउन सकिने भएकाले यसको उत्पादन गर्न सजिलो छ । विभिन्न आयुर्वेदिक औषधालय एवं प्राकृतिक चिकित्सालयमा गहुँको जुस उत्पादन र विक्री गर्ने गरिएको पाइन्छ । यो रस सेवन गर्नुका मुख्य फाइदा यस्ता छन्ः

१, प्राकृतिक रुपमा उर्जा दिन्छ : स्वास्थका दृष्टिकोणले निकै फाइदाजनक मानिएको यो जुसले प्राकृतिकरुपमा उर्जा प्रदान गर्छ । यो एमिनो एसिडको मुख्य स्रोत हो, जुन शरीरमा प्रोटिनको मात्रा बढाउन मद्दत गर्छ । अण्डा, मासु जस्ता खाद्य पदार्थ खादाँ त्यसलाई प्रोटिनमा परिणत गर्नुपुर्व पहिले एमिनो एसिडमा परिणत गर्न जरुरी हुन्छ । तर, यो जुसमा पहिले नै एमिनो एसिड हुने भएकाले शरीरले त्यसलाई टुक्राउन आवश्यक पर्दैन । कुनै पनि फलफूल वा तरकारीको जुसमा २ देखि ४ चम्पा उमारेको गहुँको धुलो मिसाएर खाएमा त्यसले शरीरलाई आवश्यक उर्जा प्रदान गर्छ ।

२, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ : शरीरका लागि रोग प्रतिरोधात्मक क्षमता जरुरी हुन्छ । यसले तपाईको शरीरलाई विभिन्न रोगसित लड्ने क्षमता प्रदान गर्छ । गहुँको जुसले तपाईलाई रोगसित लड्न अझ धेरै उर्जा प्रदान गर्छ । त्यतिमात्र हैन, यसले तपाईको शरीरमा भएका कोषिकाहरुलाई बलियो बनाउनुका साथै कलेजोमा जमेर बसेका विषाक्तहरुलाई नष्ट गरी जसले रोग प्रतिरोधात्मक क्षमतामा ह्रास ल्याई रोग लाग्ने सम्भावना बढाएर लैजान्छ ।

त्यस्तै, यसमा रातो रक्तकोषिकाको वृद्धि गर्ने क्षमता रहेको हुन्छ, जुन रोग प्रतिरक्षाका लागि निकै आवश्यक छ । त्यस्तै, यसमा पाइने ‘भिटामिन सी’ तथा ‘भिटामिन ए’ लगायतका तत्वले रुघा, खोकी, ज्वरो तथा केही गम्भीर प्रकारका रोगसित लड्ने शक्ति प्रदान गर्छ । सन् २०१३ मा ‘जर्नल अफ बायोलोजिकल केमेस्ट्रीमा प्रकाशित एक अध्ययन अनुसार उमारेको गहुँको जुसले रोग प्रतिरोधात्मक क्षमता सक्रिय पार्ने गुणहरु रहेको हुन्छ ।

३, मोटोपना हटाउँछ : मधुमेह, मुटु रोग लगायतका विभिन्न खाले गम्भीर रोग लाग्नुको पछाडी मोटोपना मुख्य कारक मानिन्छ । शरीरबाट अतिरिक्त बोसो हटाउन तथा शरीरको तौललाई सन्तुलनमा राख्न गहुँको जुस सेवन गर्नु उपयुक्त मानिन्छ । गहुँको रसमा सेलेनियम नामक तत्व हुन्छ, जुन शरीरको तौललाई सन्तुलनमा राख्ने तत्व, थाइराइड ग्रन्थीको परिचालनको लागि आवश्यक छ । अस्वस्थ थाइराइड ग्रन्थीले शरीरमा हर्मोनको गडबढी गरी मोटोपना बढाउँछ ।

यसमा पोटासियम पाइन्छ । जसले शरीरमा पानी मात्रालाई कायम राख्न मद्दत गर्छ । गहुँको जुस सेवन गर्दाले भोक कम लाग्ने हुँदा यसले तपाई हामीलाई अस्वस्थ्यकर खाना खानबाट जोगाउँछ । यसले शरीरको मेटाबोलिज्म ९खानालाई शक्तिमा परिणत गर्ने प्रकृया० बढाउँछ, जसले शरीरमा भएको अतिरिक्त क्यालोरी हटाउँछ । बिहान सबेरै खाली पेटमा यो रसको सेवन गर्नाले तपाईलाई दिनभरि अतिरिक्त खाना खानबाट जोगाउँछ ।

४, रगतमा चिनीको मात्रा कायम राख्छ : प्रत्येक दिन गहुँको जुस सेवन गर्नाले तपाईको रगतमा चिनीको मात्रालाई सुचारु गर्न सघाउ पुर्‍याउँछ । यसले शरीरमा ग्लुकोज तथा लिपिडको मात्रामा सुधार गर्छ, जसले मधुुमेहलाई सन्तुलित राख्न मद्दत गर्छ । यसले पाचन प्रणालीमा सुधार ल्याई पेटलाई खाना पचाउने प्रक्रियाबाट राहत दिन्छ, जसले गर्दा मधुमेहका लागि आवश्यक पर्ने इन्सुलिनका उत्पादन गर्न सघाउ पुर्‍याउँछ । यसले प्याङक्रियाज तथा कलेजोको विषाक्त हटाई अप्रत्यक्ष रुपमा मधुमेह सन्तुलनमा राख्न मद्दत पुर्‍याउँछ ।

५, मुटुमा लाभदायक : प्रत्येक दिन गहुँको रसको सेवन गर्नु मुटुका लागि स्वास्थ्यकर मानिन्छ । यसमा भएको क्लोरोफिलले मुटुका धमनी ९आर्टरी० कडा हुने समस्या तथा उच्च रक्तचापको समस्याको उपचार गर्नमा मद्दत गर्छ । यसमा अक्सिजनको मात्रा उच्च हुने र रक्तनलीलाई सफा गर्ने क्षमता भएकाले यसलाई प्रभावकारी पनि मानिन्छ । यसले रक्तनली शुद्ध गरी साघुँरो हुनबाट जोगाएर रक्तचापलाई नियन्त्रणमा राख्छ । यसले उच्च कोलस्ट्रोरलाई नियन्त्रणमा राख्छ ।

जमराको जुसमा रहेको पोषक तत्वको विश्लेषण

‘ह्युटग्रास न्युट्रिस्नल एनालाइसिस रिपोर्ट वाई  द अप्टिमम हेल्थ इन्सिच्युट अफ सान डियोगोे’ का अनुसार जमराको जुसमा निम्नानुसार पोषक तत्त्वहरु पाइन्छन्ः

मुल पोषक तत्व

जमराको जुसमा क्यालोरी २१.०, पानी ९५ ग्राम, चिल्लो ०.०६ ग्राम, कार्बाेहाइडेट २.० ग्राम, डायटरी फाइबर ०.१ ग्राम, क्लोरोफिल ४२.२ माइक्रोग्राम, कोलाइन ९२.४ माइक्रोग्राम, ग्लुकोज ०.८० ग्राम पाइन्छ ।

खनिज तत्व

आइरन ०.६१ मिलिग्राम, म्याग्नेसियम २४ मिलिग्राम, पोटासियम १४७ मिलिग्राम, फस्पोरस ७२.२ मिलिग्राम, जिङ्क ०.३३ मिलिग्राम, क्याल्सियम २४.२ मिलिग्राम, सोडियम ३०.३ मिलिग्राम, सेलेनियम १ पिपिएम भन्दा कम पाइन्छ ।

भिटामिन

जमराको जुसमा विभिन्न भिटामिनहरु पाइन्छन् । जस्तै : भिटामिन सि ३.६४ मिलिग्राम, भिटामिन ए ४२७ आइ यु, भिटामिन बि वन ०.०८ मिलिग्राम, भिटामिन बि टु ०.१३ मिलिग्राम, भिटामिन बि थ्रि ०.११ मिलिग्राम, भिटामिन बि फाइभ ६.० मिलिग्राम, भिटामिन बि सिक्स ०.२ मिलिग्राम, भिटामिन बि टुवेल १ माइक्रोग्राम भन्दा कम, भिटामिन ई १५.२ आइ यु, फोलिक एसिड २९ माइक्रोग्राम पाइन्छ ।

कति पिउनुपर्छ जमराको जुस ?

जमराको जुस धेरै पिउनु हुदैन । दिनको दुईपटक ६० मिलिलिटर जमराको जुस पिउनुर्छ । यदि तपाई पहिलो पटक जमराको जुस पिउन सुरु गर्नुभएको छ भने विस्तारै पिउनुपर्छ । एकैपटक धेरै पिउनु हुदैन ।

१५ मिलिलिटर अथवा ३० मिलिलिटर पिउनु राम्रो सुरुवात हो । आफ्नो शरीरको क्षमतालाई बुझ्नुपर्छ र सोही अनुसार पिउनुपर्छ । ६० मिलिलिटर भन्दा धेरै पिउनाले कुनै वास्तविक लाभ हुदैन । तपाईको शरीरले थोरै मात्र जमराको जुसलाई सहन गर्न सक्छ ।

जमराको जुस एक रोग निदानात्मक तत्व

जमरा प्राकृतिक रुपमा उत्कृष्ठ रोग निदानात्मक तत्व हो । ३० एम. एल जमराको जुसले १ केजी शुद्ध तरकारीमा हुने भिटामिन, खनिज र आवश्यक बराबरको तत्त्व दिन्छ । यो स्वास्थ्य समस्या भएका मानिसलाई मात्र होइन, यसले स्वस्थ मानिसका साथसाथै रोग प्रतिरोधात्मक क्षमतालाई बढाउन मद्दत गर्दछ । यदि तपाई पिउने मौका पाउनु भयो भने यसको फाइदा आफै थाहा पाउनुहुनेछ ।

यो जुसले राता रक्तकोष बढाउन मद्दत गर्छ र उच्च रक्तचाप कम गराउँछ । यसले रगतका सााथसाथै शरीरका अङ्गहरु पनि शुद्ध गराउँछ । यसले शरीरमा अम्लिय पदार्थ निकाल्ने आन्द्रालाई सफा गराउँछ । शरीर कार्यक्षमता बढाउन पनि मद्दत गर्दछ । यसले रगतलाई बढाएर ब्लड प्रेसर घटाउँछ र रगत हिड्ने बाटोको अबरोधलाई कम गराउँछ ।

यसले रगतमा क्षारीय तत्व भण्डारण गर्न सहयोग गर्दछ । यो जुसमा रहने क्षारीय तत्वले रगतको अम्लियता कम गर्दछ । यसले अल्सर, कब्जियत, झाडापखाला कम गर्न मद्दत गर्दछ ।

यसले हाम्रो कोषको क्षमता बढाउन मद्दत गर्दछ । कलेजोमा हुने विषाक्त पदार्थलाई कम गराउँछ । रक्त सञ्चारमा मद्दत गर्दछ र जैविक वायु प्रदुषणबाट हुने असरलाई कम गर्दछ । काटेको, दर्फराएको, धावकको खुट्टाको पीडा, किराले टोकेको, पोलेको, अल्सर, ट्युमर आदिलाई कम गर्दछ ।

भर्खरैको नयाँ अध्ययनमा के देखिएको छ भने जमराको जुस ट्युमरबाट देखिने असरलाई कम गर्न मद्दत गर्दछ र कोष नष्ट हुने प्रक्रिया कम गराउँछ ।

रेसेपीः कसरी बनाउने गहुँको जमराको जुस ?

गहुँको जमरा त्यसै चपाएर पनि सेवन गर्न सकिन्छ । साथै यसबाट रस निकालेर पिउन पनि सकिन्छ । गहुँको जमराको जुस बनाएर पिउँदा स्वादिलो हुन्छ । कसरी बनाउने त जुस ?

१. आठदेखि दश वटा गहुँको जमरा जरामै काटेर राम्ररी धुने । अब यसलाई कुटेर रस निकाल्ने ।

२. अब एक सफा कपडामा त्यसलाई राख्ने र निचोर्नुपर्छ । यसको रस कुनै गिलासमा राख्नुपर्छ ।

३. यो जुसमा थोरै तुलसीको रस चुहाइदिन सकिन्छ । साथै मह र अदुवा पनि मिश्रण गर्न सकिन्छ ।

४. यो जुसमा थोरै पानी मिसाउनुहोस् । अब जुस पिउन सकिनेछ ।

कसरी उमार्ने गहुँको जमरा ?

– अर्ग्यानिक बिजको प्रयोग गर्नुपर्छ ।

– सबैभन्दा पहिला गहुँको बिजलाई एक भाँडामा आठ देखि दश घण्टासम्म पानीमा भिजाएर राख्ने ।

– अब कुनै गमलामा थोरै माटो राख्ने । उक्त गमलामा त्यती नै बिज राख्ने, जसलाई माटोले राम्ररी ढाक्न सकिन्छ ।

– अब गमलामा पानी राखेर ओझेल भएको स्थानमा राख्नुपर्छ ।

– एक हप्तासम्म एक-एक वटा गमलामा यसरी नै बिज रोप्नुहोस् ।

– सात दिनपछि पहिलो पटक रोपेको गमलामा गहुँ अंकुराउन थाल्छ ।

– खान योग्य जमरा काटेपछि उक्त खाली गमलामा पुन बिज रोप्नुहोस् ।

– गमलामा हरेक दिन पानी हाल्नुपर्छ । यसलाई घामको सोझो सम्पर्कमा राख्नु हुँदैन ।

– गहुँको जमरा उमार्नका लागि १८ देखि २० डिग्री तापमान उत्तम हो ।


प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
hamrojamana@gmail.com



सामाजिक संजाल