समुद्रमा अत्यधिक माछा मार्ने कार्यले शार्कको संख्यामा नाटकीय रुपमा कमीः अध्ययन

Hamro Jamana -   हाम्रो जमाना || २०७७ माघ १७ शनिवार

टोकियो, माघ १ समुद्रमा अत्यधिक माछा मार्ने गरिएपछि शार्कका कतिपय प्रजातिको संख्या पछिल्लो ५० वर्षमा ७० प्रतिशतभन्दा बढीले समाप्त भइसकेको एक अध्ययनले देखाएको छ । माछा मार्नेक्रम वर्षैपिच्छे बढेपछि सामुद्रिक जीवनचक्रमै ठूलै खाडल सिर्जना भएको पनि अध्ययनको निचोड छ ।

अनुसन्धाताहरुले हथौडाजस्तो टाउको हुने शार्कदेखि चराजस्तो देखिने विशाल माछा सम्मका अनेकौं प्रजातिको डरलाग्दो रुपमा ह्रास आइरहेको बताएका छन् । सर्वाधिक प्रभावित जीवजन्तुमा सामुद्रिक विशाल शार्कहरु ९ओसियानिक ह्वाइटटिप० रहेका छन् जसले मानिसलाई आक्रमण गरिरहन्छ । मानवीय क्रियाकलापका कारण यस प्रजातिको शार्क लोपोन्मुख अवस्थामा पुगिसकेको छ ।
यी शार्कलाई मानिसले पखेंटाका लागि शिकार गर्दछन्, र विश्वका कतिपय मुलुकमा ठूलै मूल्यमा खुलेआम बिक्री गर्दछन् । यी शार्कको विश्वव्यापी संख्या विगत ६० वर्षमा करिब ९८ प्रतिशतले घटेको साइमन फ्रेजर विश्वविद्यालय ९एसएफयु० का प्राध्यापक एवं अध्ययन टोलीका वरिष्ट लेखक निक डल्भीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यी शार्कको विनाश अन्य अधिकांश विशाल स्तनपायीको विनाशभन्दा बढी भयावह देखिएको छ । ब्यू ह्वेलको विनाशभन्दा अहिलेको अवस्था नाजूक छ ।” अध्ययनका प्रमुख लेखक नाथन पचौडाले भन्नुभयो, “यी जीवजन्तु पृथ्वीका सबैभन्दा ठूला र दूरदराजमा बासस्थान रहेका छन् जसलाई प्रायः मानव प्रभावबाट जोगाउनु पर्ने ठानिन्छ ।”
“हामीलाई थाहा छ भिन्नभिन्न अध्ययन र प्रतिवेदनहरुबाट आएका ती सूचनाहरु धेरै स्थानमा अवस्था निकै खराब थियो । त्यसैले विश्वव्यापी परिस्थितिको बारेमा कल्पना गर्न निकै गाह्रो थियो” एसएफयुका जैविक विज्ञान विभागका पचौडाले बताउनुभयो । नेचर नामको जर्नलमा बुधबार प्रकाशित अध्ययनले अत्यधिक माछा मार्ने र कमजोर संरक्षणलाई औंल्याएको छ । संरक्षणका प्रयासले पुनः उही अवस्थामा ल्याउन सकिने पनि अध्ययनको निचोड छ ।
यो अनुसन्धानले खासगरी सामुद्रिक शार्क र ठूला माछालाई केन्द्रित गरेको छ । यी जीवहरु मुख्यरुपमा खुला जलक्षेत्रमा बस्छन् । प्राध्यापक पचौडाले भन्नुभयो, “तथ्य विवरणले सामुद्रिक जीवनमा ठूलै र अकल्पनीय खाडल सिर्जना गर्दैछ ।” अध्ययनमा समेटिएका १८ प्रजातिहरुको विश्वव्यापी संख्या सन् १९७० यता ७० प्रतिशतभन्दा बढी नै खस्किएको प्रतिवेदनमा उल्लेख छ । डल्भीको भनाईमा अन्य प्रजातिका सामुद्रिक जीवजन्तुको यो संख्या सामुद्रिक शार्क र ठूला माछाको जस्तै वा त्योभन्दा खराब अवस्था रहेको छ । तर त्यसबारे विस्तृत अध्ययन हुन पाएको छैन ।
पचौडाले भन्नुभयो, यो नतिजाले विज्ञहरुलाई निकै चिन्तित बनाएको छ ।
अध्ययनका अर्का लेखिका एवं म्यारिन मेगाफौना फाउन्डेसनका सहसंस्थापिका आन्द्रे मार्शलले भन्नुभयो, ठूला सामुद्रिक माछाहरुको संख्या मोजाम्बिकको जलक्षेत्रमा पनि नाटकीय रुपमा कमी आएको छ । “हामीले अनुमान गरेभन्दा यो निकै छिटो गतिमा भइरहेको छ र यसका बारेमा जतिसक्दो चाँडो संरक्षणका कार्यहरु गरिनु पर्दछ ।”
तीन प्रजातिका शार्कहरु खासगरी हथौडा आकारको टाउको हुने शार्क बढी नै संकटापन्न अवस्थामा छन् । यिनीहरुको संख्या ८० प्रतिशतभन्दा बढीका दरले घटेको छ । यी शार्कहरुको संख्या घट्नुमा मुख्यतः यिनीहरुको प्रजननको दर कम हुनु र हुर्किनेक्रम पनि सुस्त हुनु हो । पछिल्लो आधा शताब्दीमा माछा मार्न प्रयोग गरिने घातक जालहरुको संख्या पनि दुई गुणा बढेको पाइएको छ । यी जालले समग्र सामुद्रिक पर्यावरण र जीवजन्तुको बासस्थानलाई नराम्रो असर पारिरहेको छ ।
अन्तर्राष्ट्रिय मत्स्यपालनको व्यवस्थापन हेर्ने क्षेत्रीय निकायहरुले शार्कजस्ता दुर्लभ जीवजन्तुको संरक्षणलाई खासै प्राथमिकता दिइरहेका छैनन्, पचौडा भन्नुहुन्छ । उहाँले संकटापन्न र गम्भीर रुपमा संकटमा परिरहेका प्रजाति मार्न प्रतिबन्ध लगाउन माग पनि गर्नु भएको छ । पछिल्लो समय अमेरिकाले अघि सारेका नियम कानुनका कारण अमेरिकी जलक्षेत्रमा सेता शार्कहरु पुनः देखिन थालेका छन् । प्रा। पचौडा भन्नुहुन्छ, “प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउन सके संकटापन्न शार्कहरुलाई लोप हुनबाट रोक्न सकिन्छ । त्यो अनुभव भइसकेको छ ।”
सर्वसाधारण आम नागरिकले पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न आआफ्ना सरकारमाथि दबाब दिनुपर्ने डल्भीको भनाई छ । उहाँले भन्नुभयो, “जहाँ जहाँ सम्भव हुन्छ, शार्कको संरक्षणका लागि सरकारसँग आग्रह गर्नुहोस् ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
hamrojamana@gmail.com



सामाजिक संजाल